१७ बैशाख, काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ।
शास्त्रीय विधि अनुसार आज बिहान सबेरै उठेर घर लिपपोत गर्ने, स्नान गर्ने र पूजा सामग्री तयार पारी संकल्प गरिन्छ। दियो, कलश र गणेशको पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ।
पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाइ घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ।
विभिन्न पुराणहरूमा यस दिन गरिएको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने उल्लेख छ। वैशाखको गर्मीमा जौको सातु र सर्वत अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो।
धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार गर्मीबाट शरीरलाई बचाउन र शक्ति प्राप्त गर्न यी दुवै चीजले सहयोग गर्छन्। यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ।
आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि दान दिने चलन छ। यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ।
यसैगरी, अक्षय तृतीयाकै दिन जन्मिएका परशुराम ऋषिको जन्मजयन्ती पनि आजै मनाइन्छ। अष्टचिरञ्जीवी मध्येका एक परशुराम वैशाख शुक्ल तृतीयाका दिन जन्मिएको विभिन्न पौराणिक ग्रन्थहरूमा उल्लेख छ।