१६ वैशाख, काठमाडौं । मंगलबार प्रतिनिधिसभाको बैठकले भन्सार विधेयक पारित गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधेयकलाई सदनले स्वीकृति दिएको हो।
यो विधेयक पूर्ववर्ती सरकारले दर्ता गराएको थियो। तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले २०८० असोज १८ गते प्रतिनिधिसभामा पेश गरेका थिए।
विधेयक २०८० चैत १८ गते दफावार छलफलका लागि प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पठाइएको थियो। अर्थ समितिबाट पारित भएपछि २०८१ वैशाख १४ गते पुनः सभामा पुगेको थियो। अन्ततः मंगलबार प्रतिनिधिसभाले यसलाई अनुमोदन गरेको हो।
अब यो विधेयक राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाबाट पारित भएपछि यो फेरि प्रतिनिधिसभामा आउनेछ। सभामुखबाट प्रमाणित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष प्रस्तुत हुनेछ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो ऐनको रूपमा कार्यान्वयनमा आउनेछ।