१५ वैशाख,काठमाडौं । प्रतिनिधि सभाको आज बसेको बैठक मङ्गलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले सोमबारको बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले आफ्ना धारणा राखेपछि बैठक स्थगित गरेका हुन्।
आजको बैठकमा ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१’ पेस गरिएको छ।
त्यसैगरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमा सैद्धान्तिक छलफल भएको र सांसदहरूले उठाएका प्रश्नहरूको मन्त्री पाण्डेले जवाफ दिएपछि प्रस्ताव स्वीकृत भएको छ। अब उक्त विधेयकमाथि ७२ घण्टाभित्र संशोधन प्रस्ताव माग गरिएको छ।
यद्यपि, आजको कार्यसूचीको चौथो नम्बरमा रहेका दुई महत्त्वपूर्ण विषय भने हटाइएका छन्। चौथो कार्यसूचीमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल गर्ने र पारित गर्ने प्रस्तावहरू थिए। सभामुख घिमिरेले यी दुई विषयलाई हटाई बैठक मङ्गलबारसम्मका लागि स्थगित गरेका हुन्।