अछाम। अछामको प्रमुख व्यापारिक केन्द्र साँफेबगर बजारमा आज बिहान भएको भीषण आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा होटलबाट बिहान करिब ३ः३० बजे सुरु भएको आगो किराना, कपडा, मोबाइल, फलफूल लगायतका छेउछाउका पसलहरूमा फैलिएको थियो।
स्थानीय व्यवसायीका अनुसार विद्युत सर्टका कारण होटलबाट सुरु भएको आगो डढेलोझैँ छिमेकी पसलहरूमा सल्किएको थियो। आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिए पनि दमकलको अभावले नियन्त्रणमा ढिलाइ भएको थियो।
प्रारम्भिक जानकारी अनुसार मानवीय क्षति भएको छैन। प्रहरीले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ।
उल्लेखनीय छ, केही साताअघि मात्रै चैत्र २६ गते जयगढ बजारमा भएको आगलागीमा ३५ पसल जलेर ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो।