बाँके। भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित र सुकमवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरेको छ।
मंगलबार नेपालगञ्जमा बसेको सर्वदलीय बैठकले यही वैशाख २० गते कोहलपुर नगरपालिका वडा नम्बर १ बाट लालपुर्जा वितरण सुरु गर्ने निर्णय गरेको आयोगका जिल्ला अध्यक्ष घननाथ खनालले जानकारी दिए। हालसम्म करिब पाँच सय ६३ लालपुर्जा प्रमाणीकरण भएका छन्।
बाँकेका आठ स्थानीय तहमध्ये डुडुवा गाउँपालिकाबाहेक सबैमा लालपुर्जा वितरणको काम भइरहेको छ। कोहलपुर र नेपालगञ्जका केही वडामा लगत सङ्कलन, तथा जानकी र नरैनापुरमा जग्गा नापी कार्य जारी छ।
अध्यक्ष खनालले प्रधानमन्त्री वा विभागीय मन्त्रीको उपस्थितिमा कोहलपुर १ बाट वितरण सुरु गर्ने निर्णय भएको र यसको सम्पूर्ण तयारी पूरा भएको बताए। विगतका आयोगका अधुरा कार्यको अभिलेख लिई क्रमशः सबैतिर लालपुर्जा वितरण गरिने उनको भनाइ छ।
बाँकेमा हालसम्म ५४ हजार हाराहारीमा लालपुर्जाका लागि आवेदन परेका छन् र आयोगको लक्ष्य आगामी असारभित्र छ हजार लालपुर्जा वितरण गर्ने रहेको छ।