विरगंज । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव भारतीय पक्षले नेपाली प्रशासनको रोहबरमा परिवारलाई जिम्मा लगाएको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बाबुदेव घिमिरेले जानकारी दिए अनुसार, बिहीबार बिहान सुनौलीमा प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा मृतकका मामा महाश्रम पाण्डेले शव बुझेका हुन्।
बुटवल उपमहानगरपालिका–११ होराइजन टोलका २७ वर्षीय सुदीप केही दिनअघि आमा, दिदी र भिनाजुसँग भारतको पारिवारिक भ्रमणमा गएका थिए। उनलाई मंगलबार कश्मीरमा आतंककारीले गोली हानी हत्या गरेका थिए। बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले शव बुटवलको कालिका नगरमा ल्याउने तयारी भइरहेको बताएका छन्।