काठमाडौं । ब्राजिलियन फुटबल लेजेन्ड रोबर्टो कार्लोसको नेपाल आगमनले नेपाली खेलकुद, विशेष गरी फुटबलमा उत्साह थपेको छ। यसअघि निर्धारित समयमा आउन नसके पनि कार्लोस मंगलबार काठमाडौं आइपुगेका छन्।
नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा प्रमुख अतिथिको रूपमा उपस्थित हुने कार्लोस नेपाल आउने पहिलो विश्वकप विजेता भने होइनन्। यसअघि पनि डेबिड बेकह्याम र जियानलुइजी बुफोन जस्ता विश्वचर्चित फुटबल हस्तीहरूले नेपालको भ्रमण गरिसकेका छन्।
इंग्ल्यान्डका पूर्वमिडफिल्डर डेबिड बेकह्याम सन् २०१५ मा युनिसेफको कार्यक्रमका लागि नेपाल आएका थिए र भक्तपुरका विद्यार्थीसँग फुटबल खेलेका थिए। इटालीका विश्वकप विजेता जियानलुइजी बुफोन गत वर्ष केपी ओली कपको फाइनलमा प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए।
रोबर्टो कार्लोस, फ्रिकिकका बादशाहको रूपमा परिचित छन्। उनी ब्राजिलियन राष्ट्रिय टोली र स्पेनिस क्लब रियाल मड्रिडका एक महत्वपूर्ण सदस्य थिए। कार्लोसले सन् २००२ मा विश्वकपको उपाधि जितेका थिए भने रियाल मड्रिडबाट खेल्दा धेरै घरेलु र अन्तर्राष्ट्रिय उपाधिहरू हासिल गरेका थिए। उनको नेपाल आगमनले नेपाली फुटबल समर्थकहरूलाई उत्साहित बनाएको छ।