काठमाडौं । शिक्षकहरूको आन्दोलन आज २०औं दिनमा प्रवेश गरेको छ। यस आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरू बन्द छन् र नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया समेत ठप्प भएको छ।
आजको प्रदर्शनमा भने अप्रत्याशित घटना घट्यो। माइतीघर मण्डलादेखि बानेश्वरसम्मको प्रदर्शनका क्रममा केही व्यक्तिले शिक्षकविरुद्ध नाराबाजी गरेपछि आन्दोलनरत शिक्षकहरू नै आश्चर्यचकित भएका थिए।
शिक्षकहरूविरुद्ध नाराबाजी गरिरहेका ती व्यक्तिलाई आन्दोलनरत शिक्षकहरूले नियन्त्रणमा लिएका थिए र पछि प्रहरीले पक्राउ गरेको हो। नेपाल शिक्षक महासंघका अनुसार ती व्यक्तिले पटकपटक उत्तेजक नाराबाजी गरेपछि शिक्षकहरूले उनलाई घेरा हालेर नियन्त्रणमा लिएका थिए।
केही आक्रोशित शिक्षकहरूले ती व्यक्तिलाई कुटपिटसमेत गरेको देखिएको थियो, जसक्रममा उनको लुगा च्यातिएको थियो। प्रहरीले नियन्त्रणमा लिएपछि पनि ती व्यक्ति शिक्षकहरूलाई झम्टिन खोजेका थिए।
प्रारम्भिक जानकारी अनुसार ती व्यक्ति ‘छोरी भर्ना गर्न पाइएन’ भन्दै अभिभावकको रूपमा आन्दोलनस्थलमा प्रवेश गरेका थिए। शिक्षकहरूको आन्दोलनका कारण देशभरका झन्डै ५० लाख विद्यार्थीको पठनपाठन ठप्प भएको छ।