काठमाडौं । गृह मन्त्रालयले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सचेत गराएको छ। राप्रपाले भोलि आइतबार बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्ने र निषेधित क्षेत्र तोड्ने बताएपछि गृह मन्त्रालयले यस्तो चेतावनी दिएको हो।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संविधान र कानुनको ठाडो उल्लंघन गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने जनाएको छ। यस्ता गतिविधिमा संलग्न हुने जोसुकैलाई पनि कानुनबमोजिम कारबाही गरिने मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताएका छन्।
मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन पनि राप्रपालाई अनुरोध गरेको छ।