बारा । बारा जिल्ला प्रहरीले छुट्टाछुट्टै तीनवटा घटनामा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। यी घटनाहरूमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पहिलो घटना २०८२ बैशाख ०४ गते राति करिब ११ः४५ बजे जिल्ला प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले गरेको चेकजाँचमा भएको हो। हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई बजनीमा रोकी तलासी लिँदा १९ पोकामा लुकाएर राखिएको करिब ३०५ किलो गाँजा बरामद भएको छ।
प्रहरीले ट्रक चालक मकवानपुर कैलाश गाउँपालिका–४ बस्ने ३२ वर्षीय राजन लामा, ट्रकमा सवार मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ बस्ने ३३ वर्षीय ईश्वर लोप्चन र ओसारपसारमा संलग्न मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने २७ वर्षीय जिवन ठोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी, २०८१ बैशाख ०४ गते बिहान करिब ०८ः३० बजे इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले प्रसौनी गाउँपालिका–४ खुटवा बस्ने ३१ वर्षीय पवन कुमार साहको घरमा छापा मारेको थियो।
छापा मार्ने क्रममा प्रहरीले २ किलो १४० ग्राम गाँजा बरामद गरेको छ र साहलाई पनि पक्राउ गरेको छ। प्रहरीका अनुसार साहले आफ्नै घरमा लागूऔषध बिक्री वितरण गर्ने गरेको सूचना प्राप्त भएको थियो।
यसैगरी, २०८२ बैशाख ०५ गते बिहान करिब २:३० बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले पचरौता नगरपालिका-१ मुसहरीटोलस्थित मकैबारीबाट ६० किलो (४ पोका) गाँजा बरामद गरेको छ।
टाउकोमा बोकेर नेपालबाट भारततर्फ ओसारपसार गरिरहेको अवस्थामा भारत बिहार प्रान्त मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने २५ वर्षीय राजबिहारी कुमारलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले पक्राउ परेका पाँचैजनालाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।