डोटी । शान्त पहाडी जिल्ला डोटीको बडीकेदार गाउँपालिका–१ स्थित बेडुपाटा खोला किनार बिहीबार दिउँसो एकाएक शोकमा डुब्यो। सिकारको लागि जंगल पसेका २४ वर्षीय युवक नरेश सार्कीको रहस्यमय तरिकाले गोली लागेर मृत्यु भएको खबरले गाउँ नै स्तब्ध बनेको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बडीकेदार गाउँपालिका–२ बर्छैनका सार्कीलाई सोही ठाउँका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक अचानक पड्किँदा गोली लागेको थियो। खड्यौली प्रहरी चौकीका प्रमुख विरादत्त पन्तले दिएको जानकारी अनुसार सार्कीको छातीमा गहिरो चोट लागेको र उनको घटनास्थलमै प्राणपखेरु उडेको थियो।
मृत्युको खबर फैलनासाथ स्थानीय त्रसित बनेका छन् भने प्रहरीले तत्काल घटनास्थल पुगी अनुसन्धान थालेको छ। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रहरीले कमलसिंह खड्कालाई तत्काल नियन्त्रणमा लिएको छ। तर, रहस्य अझै गहिरो छ किनकि प्रहरीले खड्कासँगै अन्य ९ जनालाई पनि पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बडीकेदार गाउँपालिका–१ रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ का तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगर रहेका छन्।
एक युवकको रहस्यमय मृत्यु र एकैसाथ १० जनाको गिरफ्तारीले घटनालाई थप जटिल बनाएको छ। के यो केवल सिकारको दुर्घटना थियो वा यसको पर्दा पछाडि अरू कुनै रहस्य लुकेको छरु प्रहरीले पक्राउ परेकाहरूसँग सोधपुछ जारी राखेको छ र घटनाको सत्यतथ्य पत्ता लगाउन गहन अनुसन्धान गरिरहेको जनाएको छ। डोटीको यो घटनाले स्थानीय समुदायमा त्रास र उत्सुकता दुवै सिर्जना गरेको छ।