हेटौंडा । मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ खण्डमा आज माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा. प्र. ०१–००६ ख ७०७२ नम्बरको इभी माइक्रो बस सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दुर्घटनामा सर्लाही बागमती गाउँपालिका–७ की १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका–५ की ५० वर्षीया निलमदेवी राउतको मृत्यु भएको हो। मगरको शव घटनास्थल नजिकै फेला परेको थियो भने राउतको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन् र उनीहरूको हेटौंडा अस्पताल तथा मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।