काठमाडौं । चीनले तिब्बतसम्बन्धी विषयमा अनुचित व्यवहार गर्ने केही अमेरिकी नागरिकविरुद्ध भिसा प्रतिबन्ध लगाएको चिनियाँ विदेश मन्त्रालयले सोमबार जनाएको छ।
समाचार संस्था रोयटर्सका अनुसार, तिब्बती क्षेत्रमा विदेशीको पहुँचसम्बन्धी नीतिमा संलग्न केही चिनियाँ अधिकारीमाथि अमेरिकाले दुई हप्ताअघि भिसा प्रतिबन्ध लगाएपछि चीनले यो घोषणा गरेको हो।
अमेरिकी कूटनीतिज्ञ, पत्रकार र अन्य अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई तिब्बत र अन्य क्षेत्रमा पहुँच दिन चीनले अस्वीकार गरेको आरोप अमेरिकाले लगाएको छ। अमेरिकाले उक्त क्षेत्रमा आफ्ना कूटनीतिज्ञ र अन्य व्यक्तिलाई निर्बाध पहुँच दिन माग गरेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले तिब्बत चीनको आन्तरिक मामिला भएको बताएका छन्। उनले अमेरिकाले तिब्बतका विषयमा चिनियाँ अधिकारीविरुद्ध भिसा प्रतिबन्ध लगाएर अन्तर्राष्ट्रिय कानुन र सम्बन्धको मूल नियमको गम्भीर उल्लंघन गरेको उल्लेख गरे।