काठमाडौं । सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र शिक्षा समितिको विद्यालय शिक्षा उपसमितिका संयोजक छविलाल विश्वकर्मासँग आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे छलफल गरेका छन्।
सभामुख घिमिरेले सरकारको तयारी र समितिको प्रगतिबारे जानकारी लिएका थिए। भेटमा शिक्षामन्त्री भट्टराईले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरी आगामी संसद अधिवेशनको पहिलो साता नै शिक्षा विधेयक संसदमा पेस गर्ने गरी शिक्षक र सरकारबीच संवाद भइरहेको जानकारी गराइन्।
सभामुख घिमिरेले शिक्षकका मागबारे गम्भीर भएर काम गर्न सरकार र समितिको ध्यानाकर्षण गराएका छन्।
उल्लेखनीय छ कि नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौंको बिजुलीबजारमा १३ दिनदेखि आन्दोलनरत शिक्षकहरूले मागको सुनुवाइ नभए कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन्।