२ वैशाख, विरगंज । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैङ्क भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।
कुशे गाउँपालिकाको पैङ्कलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए–नभएकाबारे हालसम्म कुनै विवरण प्राप्त भएको छैन।
केन्द्रका अनुसार यसअघि गत चैत २१ गते साँझ पनि सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो। पहिलो भूकम्प ५.२ र दोस्रो भूकम्प ५.५ म्याग्निच्युडको थियो। उक्त भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो।
यस्तै, गत चैत २० गते दार्चुलामा ४ म्याग्निच्युडको र गत चैत १२ गते हुम्लामा ४.५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।