काठमाडौं । सेनेगलका खेलाडीहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं रेजर्सले सोमबार नेपाल सुपर लिग (एनएसएल) २०२५ मा एफसी चितवनलाई २-० ले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवित राखेको छ।
काठमाडौंका लागि सेनेगलका बकारी मानेले ३२औं मिनेटमा फ्रिकिकबाट सुन्दर गोल गरे भने अर्का सेनेगलका खेलाडी अमादोउ डिओपले ७१औं मिनेटमा रोहन कार्कीको पासमा गोल थपे। यस खेलमा डेब्यु गरेका सेनेगलका गोलकिपर चिएख गुएले पनि उत्कृष्ट बचाउहरू गरे।
दश खेलाडीमा समेटिएको चितवनविरुद्धको यो जितपछि काठमाडौं ६ खेलबाट ८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लिग चरणका सबै खेल खेलिसकेको काठमाडौंको प्लेअफ यात्रा अन्य टोलीको नतिजामा निर्भर रहनेछ।
उता, लगातार दोस्रो हार बेहोरेपछि चितवनको प्लेअफ यात्रा कठिन बनेको छ। ५ खेलबाट ७ अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा झरेको छ। कप्तान अन्जन विष्टले सुरुमै गोलको अवसर गुमाउनु, घाइते भएर मैदान छाड्नु र युसुफ मलिकले रातो कार्ड पाउनु चितवनका लागि महँगो सावित भयो।
चितवनका प्रशिक्षक नविन न्यौपानेले विदेशी खेलाडीको चोट र अट्याकरहरूको कमजोर प्रदर्शनका कारण हार बेहोर्नुपरेको बताए। चितवनले अब आफ्नो अन्तिम लिग खेल धनगढी एफसीसँग खेल्नेछ र प्लेअफमा पुग्नका लागि त्यो खेल जित्नैपर्ने दबाबमा हुनेछ।
यसैबीच, साविक विजेता ललितपुर सिटी एफसी भने प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। बुटवल लुम्बिनी एफसी भने प्लेअफको दौडबाट बाहिरिसकेको छ। अब बाँकी तीन स्थानका लागि पाँच टोली प्रतिस्पर्धामा छन्।