विरगंज । सडक विस्तारका लागि आजदेखि पूर्वपश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अन्तर्गत दाउन्ने खण्डमा दैनिक राति ६ घण्टा यातायात आवागमन बन्द हुने भएको छ।
जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनक बन्जाराका अनुसार आजदेखि बैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक ६ घण्टा यातायात बन्द गरेर सडक विस्तारको काम गरिनेछ।
यसअघि चैत्र २७ गतेदेखि चैत्र ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन बन्द गर्ने भनिए पनि पानीका कारण दुई दिनभन्दा बढी काम हुन सकेन।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले दाउन्नेको १४ किलोमिटर खण्डमा पूर्वीतर्फ मात्रै ७-८ स्थानमा सडक एकतर्फी रहेको बताए। उनका अनुसार आज पनि पानीका कारण दाउन्नेमा लामो जाम लागेको छ।
प्रहरीले हिजो मात्रै सूचना जारी गरी दाउन्नेमा बाटो चिप्लो भएका कारण यातायात सञ्चालनमा समस्या रहेको भन्दै वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको थियो।