आनन्द कुमार साह
चैत, २७ वीरगञ्ज । वीरगञ्ज कलेजले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रम मानवीय सेवाको उत्कृष्ट उदाहरण बन्यो। कलेज परिसरमा आयोजित यस कार्यक्रममा १५ महिलासहित कुल ६२ जनाले आफ्नो अमूल्य रगत दान गरी जीवनदायी कार्यमा सहभागी भए।
रितिका कुमारी महर्जन, प्रीति कुमारी, सुनिता साह, जान्हवी गुप्ता, रिया यादव जस्ता महिला रक्तदाताहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रेरणादायी बनाएको थियो। यसैगरी, श्रवण पटेल, विकेश कुमार लगायतका युवा विद्यार्थीहरूले पनि उत्साहपूर्वक रक्तदान गरे। बिनय थारु, बिकेश कुमार पटेल, नवल किशोर ठाकुर, धिरज दास, र नितेश गुप्ता जस्ता व्यक्तित्वहरूको उल्लेखनीय योगदानले कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो।
वीरगञ्ज कलेजका अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, वरिष्ठ उपाध्यक्ष सुशीला साह, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, क्याम्पसका सहायक प्रमुख रुदल ठाकुर, प्रशासन प्रमुख सुरेश प्रसाद चौधरी, डा. अशोकराज ठाकुर लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कलेजले विगतमा हरेक वर्ष माघ महिनामा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको थियो। यस वर्ष भने रगतको आवश्यकता र मागलाई मध्यनजर गर्दै कार्यक्रम चैत महिनामा आयोजना गरिएको अध्यक्ष डा. चौधरीले जानकारी दिए। “गर्मी मौसममा रगतको खपत बढ्ने भएकाले यसको आपूर्ति सहज बनाउनु हाम्रो उद्देश्य हो,” उनले भने, “यसका साथै, विद्यार्थीहरूलाई रक्तदानको महत्त्व बुझाउँदै यस कार्यमा सहभागी हुन उत्प्रेरित गर्नु पनि कार्यक्रमको लक्ष्य हो।”
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न नेपाल रेडक्रस सोसाइटीको प्राविधिक टोली र बी.सी.ए. स्टुडेन्ट क्लबले उल्लेखनीय सहयोग पुर्याएका थिए। विद्यार्थी र शिक्षकहरूको सक्रिय सहभागिताले वीरगञ्ज कलेजको यो रक्तदान कार्यक्रम साँच्चै नै प्रशंसनीय बनेको छ।