वीरगन्ज । वीरगन्ज महानगरपालिकाका निजी विद्यालयहरुले माध्यामिक शिक्षा परीक्षाको पूर्व तयारीका लागि मनकामना प्रि–एसईई एकाडेमिक ओलम्पियाड २०८१ को आयोजना गरेको छ ।
यो प्रतिस्पर्धामा वीरगन्जका १५ वटा विद्यालयहरुका कक्षा १० का विद्यार्थीहरुको सहभागितामा रहेको प्याब्सन महानगरका अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिए ।
मनकामना माविमा सञ्चालित मनकामना प्रि–एसईई एकाडेमिक ओलम्पियाड २०८१ मा ७५ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् । उनले विद्यार्थीहरुबीच गराईएको मनकामना प्रि–एसईई एकाडेमिक ओलम्पियाड २०८१ प्रतिस्पर्धाले आउने एसईई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या बढाउने मुख्य उद्देश्य रहेको बताए ।
एसईई परीक्षामा वीरगन्जबाट धेरै भन्दा धेरै ४ जीपीए ल्याउने विद्यार्थी उत्पादनको लागि मनकामना प्रि–एसईई एकाडेमिक ओलम्पियाड २०८१ प्रतिस्पर्धा कोशेढुङ्गा सावित हुने उनको विश्वास छ । प्याब्सन पर्साले यसअघि नै प्रि–एसईई परीक्षा सम्पन्न गरिसकेको छ ।
विद्यालयका विद्यार्थीहरुबीचको क्षमता मापन गर्नका लागि गरिएको यस्ता खालका प्रतिस्पर्धाले शिक्षाको गुणस्तर बढाउनुका साथै विद्यालयहरुको संस्थागत विकास र सांगठनिक विकासमा पनि सकारात्मक भूमिका खेल्ने विश्वास गरिएको प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष पुरन प्रधानले बताए ।