वीरगन्ज । ज्ञानदा एकेडेमीले आफ्नो स्थापनाको ११ औं बार्षिकोत्सव मनाएको छ । एकेडेमीकै सभाहलमा आयोजना गरिएको बार्षिकोत्सवको वीरगन्ज स्थित भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत देवी सहाय मिणाले उदघाटन गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्यका क्रममा ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कोईरालाले विद्यालयले हालसम्म गरेको प्रगतिको बारेमा विस्तृत जानकारी गराएका थिए ।
उनले विद्यालयले विभिन्न समयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिताहरुको आयोजना गर्नुका साथै बाहिर आयोजना गरिने प्रतियोगितामा पनि विद्यार्थीहरु सहभागी भएर उत्कृष्ट नतिजाहरु ल्याउन सफल भएको जानकारी दिए ।
उनले विद्यालयले काठमाडौंमा समेत प्रतियोगितामा सहभागिता जनाई सफलता प्राप्त गरेर ज्ञानदालाई वीरगन्ज बाहिर पनि पहिचान दिलाउन सफल भएको बताए ।
उनले विद्यालयका विद्यार्थीहरुलाई देशका संस्कृतिहरुको विषयमा जानकारी गराउने र संस्कार सिकाउनेदेखि खेलकुदमा समेत अब्बल खेलाडी उत्पादनमा ज्ञानदा एकेडेमी अगाडि बढेको बताए । क्रिकेट खेलको विद्यालयस्तरबाटै विकास र प्रवर्द्धन गर्नका लागि राष्ट्रिय क्रिकेट टिमका खेलाडी आशिफ शेख र आरिफ शेखलाई विद्यालयको सदभावना दूत समेत नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत कोईरालाले बताए ।
विद्यालयको शैक्षिक कार्यक्रम अनुसार हाल उच्च शिक्षामा प्लस टुमा विज्ञान, व्यावस्थापन र कानून विषयमा समेत अध्ययन भईरहेको जानकारी दिदै आगामी दिनमा कलेजमा स्नातक तह र बिएएलएलबी कार्यक्रम समेत ल्याउने योजना रहेको जानकारी दिए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष सन्दीप तुल्स्यानको अध्यक्षतामा भएको उदघाटन समारोहमा वीरगन्ज महानगरपालिकाका पूर्व नगर प्रमुख विजय कुमार सरावगी, प्रेम जाटिया लगायत विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयले आयोजना गर्ने विभिन्न प्रतियोगितामा उत्कृष्टहरुलाई पुरस्कार वितरण गरिएको थियो । बार्षिकोत्सव कार्यक्रम भोली पनि हुने विद्यालयका प्रशासन प्रमुख कुश सापकोटाले जानकारी दिए ।