वीरगन्ज । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) बाराले जिल्लामा देखिएको भ्रष्टाचार नियन्त्रण र कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा बारामा ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालयमै गम्भीर भ्रष्टाचारका घटना भइरहेको जानकारी प्राप्त भएको भन्दै त्यसलाई नियन्त्रण गर्न चारबुँदे ज्ञापनपत्र बुझाएको हो ।
जिल्ला प्रशासन कार्यालयमा सेवा लिने सर्वसाधारण नागरिकहरू अनावश्यक झन्झट, अवैधानिक शुल्क असुली, ढिलासुस्ती र दलालहरूको प्रभावका कारण मर्कामा परेको भन्दै अखिल क्रान्तिकारीले ध्यानाकर्षण भएको जनाएको छ ।
भ्रष्टाचारको तत्काल छानविन गरी उचित कारवाही गर्न माग गर्दै चारबुँदे ज्ञापनपत्र बुझाएका छन् । अखिल क्रान्तिकारीले अवैध शुल्क असुलीको अन्त्य गर्न सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने क्रममा अनाधिकृत शुल्क लिने कार्य रोक्न कडा निगरानी राख्नुपर्ने, कार्यालयका कर्मचारी र बाहिरी दलालहरूको साँठगांठवाट भइरहेको अनियमितता तुरुन्त रोक्न प्रभावकारी उपायहरू अवलम्बन गर्नमा गरिएको छ ।
त्यस्तै सेवाग्राहीहरूलाई आवश्यक सेवा समयमै प्रदान गर्न प्रभावकारी प्रणाली लागू गरि पारदर्शी सेवा प्रवाहको सुनिश्चितता गर्न माग भएको छ ।
भ्रष्टाचारमा संलग्न कर्मचारीहरूको पहिचान गरी उनीहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउन र भ्रष्टाचारमा संलग्न कर्मचारी माथी कारबाही गर्न तथा जिल्ला प्रशासन कार्यालयलाई दलालमुक्त बनाई सेवाग्राहीहरू स्वयं सेवाहरू लिन सक्ने जनताको सहज पहुँच वातावरणको सिर्जना गर्न माग गरेका छन् ।
अखिल क्रान्तिकारीले राखेका चारबुँदे मागहरूमा छिटो निर्णय गरी भ्रष्टाचारी लाई कार्वाही गर्न माग गर्दै अन्यथा आन्दोलनको थप कार्यक्रम गर्न वाध्य नपार्न पनि भनेको छ ।
अखिल (क्रान्तिकारी) बाराका अध्यक्ष सन्दीप यादवको नेतृत्वमा गएको टोलीले बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन् ।
कार्यक्रममा (माओवादी केन्द्र) कलैया उपमहानगरपालिका अध्यक्ष मुकेश साह, नेता संदिप गुप्ता, रियाजुल इस्लाम, जितेन्द्र गुप्ता, अखिल (क्रन्तिकारी) जिल्ला उपाध्यक्ष दीपेन यादव, अमित यादव, अखिल पटेल, कलैया नगर अध्यक्ष सोनु पटेल, रंजित साह, देव मण्डल लगायतको उपस्थितिमा सहायक जिल्ला प्रशासन प्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन्।