वीरगन्ज । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखमा सरुवा भएर आएका प्रहरी उपरीक्षक गौतम मिश्रलाई स्वागत गरेको छ ।
वीरगन्जको होटल कैलाशमा आयोजना गरिएको स्वागत कार्यक्रममा सहभागी उद्योगी व्यावसायीहरुले वीरगन्जको आर्थिक कारोबार चलायमान गराउनमा सुरक्षा निकायले खेल्नुपर्ने भूमिकामा सहयोगको अपेक्षा गरेको बताए ।
उनीहरुले वीरगन्जको आईसीपी र ड्राईपोर्ट भन्सारबाट छुट्ने मालवाहक सवारी साधनहरुलाई चेकजाँचको बहानामा प्रहरीले दुःख दिने गरेको र ट्राफिक प्रहरीले पनि जरिवानाको नाममा रकम असुल्ने गरेको गुनासो गरेका थिए ।
अवैध व्यापार नियन्त्रणका लागि आवश्यक सहजीकरण गर्न व्यावसायीहरु तयार रहेको बताउदै व्यावसायी र प्रहरीको सहकार्य र समन्वय हुनुपर्ने बताए ।
नेपालको आर्थिक क्षेत्र चलायमान बनाउने महत्वपूर्ण क्षेत्र पर्यटन रहेको र पर्यटन क्षेत्रको विकासमा भारतीय पर्यटकहरुको महत्वपूर्ण हिस्सा रहने बताउदै एकीकृत भन्सार जाँचचौकी (आईसीपी) मा अध्यागमन कार्यालयको स्थापना गरेर भारतीय पर्यटकहरुलाई आउने वातावरण बनाउनुपर्ने बताए । उनीहरुले त्यसको लागि पहल गर्न पनि प्रहरी उपरीक्षक मिश्रसँग आग्रह गरे ।
त्यस्तै भारतीय रुपैंया लिएर आउनेलाई सुरक्षाकर्मीहरुले धरपकट गर्ने गरेको भन्दै त्यसको व्यवहारिक पाटो हेरिदिन पनि व्यावसायीहरुले आग्रह गरेका थिए ।
प्रहरी उपरीक्षक गौतम मिश्रले आफ्नो जागिरको सिलसिलामा झण्डै पाँचबर्ष मधेसकै जिल्लाहरुमा बसेर काम गरेको अनुभव रहेको र यहाँको हावापानी, माटो, समाज तथा अपराध र तस्करीको बारेमा पनि आफू जानकार रहेकोले व्यावसायीलाई परेको समस्यामा सहजीकरण गर्न तयार रहेको बताए ।
उनले पहिलेको भन्दा अहिले पर्साको अपराधको प्रवृत्तिमा धेरै परिवर्तन भएको भन्दै पहिलेको जस्तो हत्या, अपहरण जस्ता अपराध कम र आर्थिक अपराधहरु बढी भएकोले त्यसको न्यूनीकरणका लागि आफूले सक्दो प्रयास गर्ने बताए ।
समाजमा शान्ति सुरक्षा र अमन चयन राख्ने क्रममा सुरक्षाकर्मीहरुबाट भए गरेका कमी कमजोरीहरुलाई अन्यथा नलिन आग्रह गर्दै त्यसलाई सुधार गर्नका लागि आवश्यक सुझावहरुको पनि अपेक्षा गरेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका पूर्व अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम,
वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडिया, नेपाल औषधि व्यावसायी महसंघका केन्द्रीय अध्यक्ष प्रकाश खण्डेलवाल, बारा उद्योग वाणिज्य संघका राजकुमार साह,
मधेस प्रदेशको पर्यटन समितिका संयोजक सञ्जय अग्रवाल, महिला उद्यमी यशोदा गजुरेल, अनिता बसौला लगायतको उपस्थिति रहेको थियो । कर्याक्रमको सहजीकरण जीतपुर सिमरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सञ्जय साहले गरेका थिए ।