वीरगन्ज । भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले कार्यभार सम्हालेका छन् । गएको पुस २९ गते नेपाल सरकारले भूमि समस्या समाधान आयोग पर्साको अध्यक्षमा अहमदलाई नियुक्त गरेको थियो ।
७७ जिल्लामै नियुक्त गरिएको अध्यक्ष मध्य पर्सामा नियुक्त अहमदले बिहीबार पदभार ग्रहण गरेका हुन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का युवा नेतासमेत रहेका अहमदले यसअघि २०७८ चैत मा पनि पर्साको भूमि आयोगको अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।
अहमदलाई जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पदभार ग्रहण गराउँदै उनको सफल कार्यकालको लागि शुभकामना दिए ।
बिहीबारदेखि पदभारग्रहण गर्दै कार्यभार सम्हालेका अध्यक्ष अहम्मदले यसअघिको दुई वर्षे कार्यकालमा पर्सा जिल्लामा रहेका भूमीहिन विपन्न, दलित, अल्पसंख्यक समुदायका लागि आफूले धेरै कामहरु गरिसकेको र अधुरा रहेका कामहरु यस कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाए ।
अबको ३ वर्षे कार्यकालमा पर्सामा विद्यमान भूमि सम्बन्धि समस्या स्थायी रूपमा समाधान हुने उनको दावी छ । अध्यक्ष अहमदले साविकका आयोग देखि हालसम्मको आयोगले गरेका कामकारबाहीलाई समेट्ने गरि स्मारिका प्रकाशित गर्ने निर्णयपनि गरेको जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म पर्सामा झण्डै ८ हजार देखि ८ हजार पाँचसय जना भूमिहिन सुकुम्वासी, दलित सुकुम्वासी र अव्यवस्थित बसोवास गर्नेहरुले फाराम भरेका थिए ।
कार्यक्रममा नेकपा एमाले पर्साका अध्यक्ष डा.विश्वम्भर शर्मा, जसपाका नेता प्रेमबाबु पटेल, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मी,
जिल्ला समन्वय समिति पर्साका प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहान, जसपाका नेताहरु असलम आलम, मुकेश द्विवेदी, अमित यादव, मुस्तकिम अन्सारी लगायतकाको उपस्थिति थियो ।