वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद अर्यालले समाजका कुप्रथाहरु सामूहिक प्रयासबाट मात्रै अन्त्य हुनसक्ने बताएका छन् । बाल विवाह, दाईजो प्रथा र खर्चिलो विवाह न्यूनीकरणका लागि आफ्नै घरबाट सुरुवात गर्नुपर्नेमा जोड दिदै उनले बाहिर ठूला भाषण गर्नेहरुकै घरभित्र बढी यस्ता समस्याहरु रहेको बताएका छन् ।
हाम्रो अभियान पर्साले सरोकारवालाहरुसँग राखेको छलफलका क्रममा उनले समाजमा जकडिएर रहेको बालविवाह, दाईजो प्रथा र खर्चिलो विवाहका लागि जति ठूला भाषण गर्ने र अभियानमा संलग्नहरुकै घर तथा समाजमा यस्ता समस्याहरु निकै डरलाग्दो रहेको बताए । यसको न्यूनीकरणका लागि आफैले घरबाट शुरुवात नगरेसम्म सम्भव नभएको उनले बताए ।
नेपालको सामाजिक संरचना पितृसतात्मक सोचबाट बाहिर आउन नसकेको बताउदै उनले समाजले नै त्यस्ता कुप्रथा र कुरितीमा संलग्नहरुलाई बहिष्कार गर्नुपर्ने जोड दिए ।
सामाजिक कुप्रथाहरुलाई हटाउने अभियान चलाउने सामाजिक संघ संस्थाहरुमा संलग्नहरुको घर परिवारमा झन् ठूलो समस्या पाईएको बताउदै प्रमुख जिल्ला अधिकारी अर्यालले त्यस्ता व्यक्तिहरुलाई सामूहिक दबाव र सामाजिक बहिष्कार नगरेसम्म यस्ता समस्याहरुको अन्त्य हुन नसक्ने बताए ।
शक्ति र पैसाको पहुँचवालाहरुले पछिल्लो समयमा खर्चिलो विवाह गर्नेहरु पनि समस्याको रुपमा देखा परेको भन्दै प्रमुख जिल्ला अधिकारी अर्यालले सामूहिक प्रयास र सामाजिक बहिष्कार विना यसको न्यूनीकरण सम्भव नरहेको बताए ।
हाम्रो अभियान नेपाल पर्साका कार्यकारी निर्देशक शिवनाथ यादवको अध्यक्षतामा भएको सरोकारवालाहरुसँगको छलफलबाट आएका धारणालाई एकतृत गरेर बालविवाह, दाईजो प्रथा र खर्चिलो विवाह न्यूनीकरणका लागि आवश्यक सुझाव सहितको प्रतिबेदन पर्साका प्रमुख जिल्ला अधिकारीलाई बुझाईने संस्थाकी संयोजक सलमा खातुनले जानकारी दिईन् ।
कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर ३० का वडा अध्यक्ष मनोज यादव, बाराको परवानीपुगर गाउँपालिका वडा नम्बर ३ का वड अध्यक्ष इब्राहिम मियाँ धोवी, वडा नम्बर ४ का वडा अध्यक्ष गम्भीर राउत कुर्मी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।