वीरगन्ज ।जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मितिमा विभिन्न स्थानबाट एक करोड ५ लाख भन्दा बढीको भन्सार छलिका सामान सहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।
पुष २५ गते जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.–७ जीतपुर चोक ईलाका प्रहरी कार्यालय जीतपुर बाराले ७३ लाख ८४ हजार ४१७ मूल्य बराबरको विलविजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगन्जबाट सप्तरीतर्फ जादै गरेको ना ५ ख २६०९ नम्बरको डिब्बा ट्रकमा लोड गरेको टायर, औषधि, इप, स्प्रे टैङक लगायत अन्य खुद्रा समान सहितको ट्रक नियन्त्रणमा लिएको हो ।
पुष २५ गते बिहान बाराको महागढीमाई नगरपालिका वडा नं.–७ तेलकुवा चोकबाट भन्सार छलीको ६० हजार रूपैया बराबरको कस्मेटीक समान नियन्त्रणमा लिएको छ। प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी टोलीले कबहीबाट वरियारपुर तर्फ आउदै गरेको यात्रु बोक्ने अटोमा उक्त सामान बरामद गरेको हो ।
त्यस्तै शुक्रबार जीतपुर सिमरा उपममहानगरपालिका वडा नं.–१ पथलैयाबाट प्रहरी चौकी पथलैयाले वीरगंजबाट चितवनतर्फ जादै गरेको ना ३ ख ५०३९ नम्बरको ट्रकमा लोड रहेको ३१ लाख ५१ हजार १११.९ रुपैंया बराबरको सामान बरामद गरेको छ ।
उक्त ट्रकमा टायर, मोटर पार्ट्स, केमीकल पाउडर र ईलेक्ट्रिकल समान लगायत अन्य खुद्रा समानहरू फेला परेको बारा प्रहरीले जनाएको छ ।
सामान सहित नियन्त्रणमा लिईएको ट्रकलाई आवश्यक अनुसन्धान कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।