वीरगन्ज । आर्थिक विषयमा कलम चलाउने वीरगन्जका पत्रकारहरुको भेलाले इकोनोमिक रिपोर्टर्स एशोसिएसन (इरा) तदर्थ समिति गठन गरेको छ । नेपाल पत्रकार महासंघको सभाकक्षमा आज भएको भेलाले यसअघि ओमप्रकाश खनालको संयोजकत्वमा रहेको इकोनोमिक रिपोर्टर्स एशोसिएसनलाई संस्थागत गर्न तदर्थ समिति गठन गरेको हो ।
कान्तिपुर दैनिकका उपसम्पादक शंकर आचार्यको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको उपाध्यक्षमा जनकपुर टुडे दैनिकका अनिल तिवारी, नागरिक दैनिककी विमला गुप्ता, सचिवमा कारोबार राष्ट्रिय आर्थिक दैनिकका निरज पिठाकोटे, सहसचिवमा बीबीसी नेपाली सेवाकी माधुरी महतो र कोषाध्यक्षमा मध्य नेपाल सन्देश साप्ताहिककी कविता खड्का रहेका छन् ।
त्यस्तै सदस्यहरुमा अन्नपूर्णपोष्ट दैनिकका क्रान्ति साह, इसनेशा अनलाईनका सुरेश विडारी, सीधाकुरा डटकमका जियालाल साह, बिजमाण्डु र प्रतीक दैनिकका राधेश्याम पटेल र भोजपुरी टाईम्स दैनिकका अजय चौरसिया रहेका छन् ।
यसअघिका संयोजक ओमप्रकाश खनालले तदर्थ समितिका अध्यक्ष शंकर आचार्यलाई जिम्मेवारी समेत हस्तान्तरण गर्नुभएको छ । तदर्थ समितिले तीन महिना भित्रमा संस्थाको विधान मस्यौदा निर्माण तथा संस्था दर्ताको प्रकृया पनि सम्पन्न गर्ने निर्णय गरेको छ ।
आजको बैठकले नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित संस्थाका निवर्तमान संयोजक ओमप्रकाश खनाल लगायत निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ । त्यस्तै निवर्तमान संयोजक खनाल र पूर्व संयोजक रितेश त्रिपाठीलाई सल्लाहाकारमा मनोनयन गरेको छ ।