वीरगञ्ज । वन्यजन्तु तस्करी र ज्यान मार्ने उद्योगको मुद्दामा आफूहरुले सफाई पाईसकेको मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले स्पष्टोक्ति दिएका छन् ।
नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर आफूमाथि लगाएको आरोप निराधार भएको बताएका हुन् ।
आफूले अदालतबाट पूर्ण सफाइ पाएको र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा अदालतको आदेशमा राखिएको धरौटी समेत फिर्ता पाएको तथ्य सार्वजनिक गर्दै मन्त्री जयसवालले समाचार गलत र भ्रामक रहेको बताए ।
मन्त्री प्रमोद जयसवाले आफ्ना सहोदर भाइ प्रदीप जयसवालले पनि वन्यजन्तु चोरी सिकारीको आरोपमा सीआइबी लगायत सम्बन्धित सबै निकायबाट सफाइ पाईसकेको दाबी प्रस्तुत गरेका थिए ।
सञ्चार माध्यमले एकपक्षीय र पूर्वाग्रहपूर्ण ढङ्गले समाचार प्रकाशित गरेको गुनासो व्यक्त गर्दै उनले समाचार प्रकाशित गर्नुअघि आफ्नो धारणा समेत माग नगरेकोप्रति गम्भीर असन्तोष व्यक्त गरे ।
उनले तथ्यविहीन र भ्रमपूर्ण समाचारले जनतामा गलत सन्देश जाने बताउँदै त्यस्ता खबरहरूको जिम्मेवारी सञ्चारमाध्यमले लिनुपर्नेमा जोड दिए ।
जयसवालले आफूविरुद्ध समाचार लेख्ने पत्रकारलाई सामाजिक सञ्जालमा गरिएको धम्कीपूर्ण टिप्पणीको घटनामा आफू र आफ्नो पार्टीका कार्यकर्ताहरूको संलग्नता अस्वीकार गरे ।
उलने त्यस्ता गतिविधिहरूको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग समेत गरे । समाचार लेखेकै भरमा पत्रकारलाई धाक धम्की दिनु दुखद भएको बताउँदै उनले त्यस्तो नगर्न आग्रह गरे ।