वीरगन्ज। समाचार लेखेकै निहुँमा पत्रकारलाई धम्की दिनेलाई कारवाही गर्न नेपाल पत्रकार महासंघ पर्साले माग गरेको छ । सिधाकुरा डट कमका पर्सा संवाददाता जियालाल साहलाई सामाजिक सञ्जालमा अपमानजनक शब्द प्रयोग गरेर धम्की दिनेलाई कारबाही गर्न माग गरेको हो ।
पत्रकार महासंघ जिल्ला शाखा पर्साले शुक्रबार एक विज्ञप्ति जारी गर्दै समाचार लेखेको आधारमा साहमाथि आक्रमण गर्ने धम्की दिनेलाई कारबाही गर्न माग गरेको हो । एमाले नेताको विवादास्पद पृष्ठभूमिबारे समाचार लेखेको भन्दै साहलाई एमाले कार्यकर्ताले कालोमोसो दल्ने धम्की दिएका थिए ।
त्यस बारेमा पत्रकार साहले नेपाल पत्रकार महासंघ पर्सा जिल्ला शाखामा लिखित जानकारी गराएका थिए । महासंघका सचिव विजय कुमार महतोले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै निहुँमा पत्रकार साहविरुद्ध सामाजिक सञ्जालमा फोटो नै राखेर धम्कीपूर्ण स्टाटस लेख्नु लेख्न लगाउनु आपत्तिजनक रहेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिकदेखि राज्यका निकायहरूले सञ्चारकर्मीप्रति देखाइरहेको बदनियतपूर्ण व्यवहारलाई महासंघले नजिकबाट नियालिरहेको छ ।’ समाचारमा चित्त नबुझे कानुनी उपचारको बाटोबाट विवाद समाधान गर्न सकिने भन्दै धम्की र त्रासको वातावरण अन्त्य गर्न महासंघले माग गरेको छ।
सिधाकुरा डटकममा पुस १८ गते साहले ‘आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाइलाई ओलीबाटै एमालेमा भव्य स्वागत, मधेशका एमालेमा त्रास’ शीर्षकको समाचार लेखेका थिए। सो समाचारलाई लिएर एमालेका कार्यकर्ताहरूले सम्वाददाता साहलाई फोन र सामाजिक सञ्जाल मार्फत अभद्र व्यवहार गर्ने धम्की दिएका थिए ।
सिधाकुरा सम्वाददाता साहको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै एमाले कार्यकर्ताहरूले यस्तो चेतावनी दिएका हुन् । समाचारलाई लिएर एमालेका कार्यकर्ताहरूले सम्वाददाता साहलाई फोन र सामाजिक सञ्जाल मार्फत अभद्र व्यवहार गर्ने धम्की दिएका थिए । सिधाकुरा सम्वाददाता साहको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै एमाले कार्यकर्ताहरूले यस्तो चेतावनी दिएका हुन् ।