काठमाडौँ । आज नोभेम्बर २० तारिख विश्वभर विविध कार्यक्रम गरी विश्व बाल दिवस मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय बाल दिवसको नारा ‘भविष्यका बारेमा सुन्नुहोस्ः बालबालिकाको अधिकारका पक्षमा उभिनुहोस्’ भन्ने तय गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले बालअधिकारको संरक्षणका लागि परिणाममुखी कार्य गर्न सम्पूर्ण नागरिक, अभिभावक, राजनीतिक दल, अधिकारकर्मी र सर्वसाधारणलाई अनुरोध गरेको छ ।
दिवसका अवसरमा आज आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा बालअधिकार संरक्षण गर्न सबैको सहयोग र सहकार्य आवश्यक पर्ने उल्लेख गरिएको छ ।
आयोगले बालअधिकारका विषयमा नियमित अनुगमन गर्दै आइरहेको विज्ञप्तीमार्फत जनाइएको छ । राज्यबाट बालश्रमिकको उद्धार, बालश्रम निवारण कोषको स्थापना, दिवाशिशु स्याहार, दिवाखाजा कार्यक्रमलगायत केही सकारात्मक कार्य भइरहेको पनि आयोगले विज्ञप्तीमा जनाएको छ ।
अहिले पनि नेपालमा बालबालिकाको जन्मदर्ता र पहिचानमा भएको कठिनाइ, यातना, घरेलु श्रम, जोखिमपूर्ण श्रम, यौन हिंसाको सिकार, शिक्षा र स्वास्थ्यबाट बञ्चित, बालबालिका विद्यालय बाहिर हुुनु, बिचैमा विद्यालय छोड्नेको सङ्ख्या नघट्नु, बेचबिखनको जोखिम, बाल न्यायको अभावलगायत समस्या देखिएको आयोगको अध्ययनले देखाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “कारागारमा रहेका आश्रित बालबालिका मानव अधिकारको उपभोगबाट बञ्चिति, बाल सुधारगृह मानव अधिकारमैत्री नहुनु, दिवा खाजा मापदण्डअनुुसार नहुनु, परिवार र समाजमा बालमैत्री वातावरणको अभाव र बालयौन दूराचारमा संलग्नलाई कानुनबमोजिम कारबाही हुन नसकेको आयोगको अनुगमनबाट पाइएको छ ।”
विश्वमा बालअधिकारको संरक्षणका लागि कानुन निर्माण र महासन्धि जारी भए पनि महासन्धि र कानुनले परिकल्पना गरेझैँ बालअधिकारको पूर्ण प्रत्याभूति हुनसकेको छैन ।
नेपालको संविधान २०७२ को धारा ३९ मा उल्लेखित बालबालिकाको हक, बालबालिकासम्बन्धी ऐन २०७५, बालश्रम निषेध र नियमित गर्ने ऐन, २०५६ जस्ता राष्ट्रिय कानुन तथा नेपालपक्ष भएको बालअधिकार महासन्धि, १९८९ ले परिकल्पना गरेको अधिकारको प्रत्याभूति पूर्ण रुपमा हुन नसकेको यथार्थको परिणाम नेपालका बालबालिकाले पनि भोग्नु परिरहेको छ ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९५४ नोभेम्बर २० देखि हरेक वर्ष विश्वभरका बालबालिकाको अधिकारको सुनिश्चितता होस् भन्ने उद्देश्यले विश्व बाल दिवस मनाइने गरिएको हो । यस अवसरमा सम्पूर्ण बालबालिका तथा बालअधिकारर्मीमा आयोगले शुभकामना व्यक्त गरेको छ ।