बाके । बाँकेमा कोदोखेतीको सफल परीक्षण गरिएको छ । सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित गाभर भ्यालीमा कोदोखेतीको सफल परीक्षण गरेको हो । बैजनाथको चिसापानीमा गत साउनमा रोपिएको कोदो अहिले लहलह झुलेको छ । पहाड र हिमालको चिसो मौसममा मात्रै उत्पादन हुने कोदोको गर्मी हुने तराईमा सफल खेती गरिएको हो ।
सामुदायिक जिन बैंक सञ्जालका संयोजक पुरमल बस्नेतका अनुसार डेढ कट्ठाभन्दा बढी जग्गा भाडामा लिएर कोदोका विभिन्न प्रजातिको बिउ परीक्षणका लागि रोपिएको थियो । बस्नेतका अनुसार पाँच वटा प्रजाति जिन बैङ्कले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुईवटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विकास गरेका र अन्य दुई प्रजाति किसानले उत्पादन गरेका कोदोका जात छन् ।
रैथाने बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको परीक्षण उत्पादन गरिएको उनको भनाइ छ । विसं २०७८ मा चिसापानीको गाभर भ्यालीमा नेपालमै पहिलो सामुदायिक जिन बैङ्क स्थापना गरिएको थियो ।
जिन बैङ्कका सचिवसमेत रहेका घरबास सञ्चालक सङ्घका महासचिव कृष्ण चौधरीले गाभर भ्यालीमा कोदोखेतकिो सम्भावना देखिएकाले परीक्षण गरिएको र त्यो सफल भएको बताउनुभयो । जिन बैङ्कले तराईमा कोदोसँगै विभिन्न रैथाने अन्नबाली, वनस्पति, पशुपन्छी, मौरी, सूक्ष्म जीवाणु र जलीयकुण्ड क्षेत्रमा काम गर्दै आएको छ ।