वीरगन्ज । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले प्रदेशमा आदिवासी जनजातिहरुको उत्थान र विकासका लागि छुट्टै निकाय गठन गर्न आवश्यक रहेको बताएका छन् ।
वीरगन्जको रेशमकोठीमा रहेको थारु छात्रावासको चौथो साधारणसभाको उदघाटन गर्दै प्रमुख अतिथि मन्त्री लेखीले मधेस प्रदेशमा प्रदेशसभाका आदिवासी जनजाति सांसदहरुले पहल गरेर विधेयक ल्याई एउटा प्रदेशस्तरीय आदिवासी जनजातिको संकारी संयन्त्र निर्माण गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले मधेस प्रदेशसभामा सभामुख पनि आदिवासी जनजाति समुदायबाट नै रहेको र आफू आदिवासी जनजाति समुदायबाटै गृह, सञ्चार तथा कानून मन्त्रालय सम्हाली रहेकोले प्रदेशसभाका आदिवासी जनजाति सांसदहरुले विधेयक ल्याउन पहल गरेमा सरकारी संयन्त्र बनाउन सकिने बताए । विधेयकका लागि कमसेकम आदिवासी जनजाति सांसदहरु तर हुनुपर्ने उनको भनाई छ।
सरकारको तर्फबाट आफूले पहल गरेपनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सांसदहरुले यसतर्फ चासो नदिँदा नीति बन्न नसकेको बताए । उनले वीरगन्जमा रहेको थारु छात्राबास स्थापना र निर्माण भए अनुरुपको विकास हुन नसकेको भन्दै छात्रावासलाई प्राविधिकहरुको परामर्श र सुझावमा अत्याधुनिक बनाएर व्यावसायिक प्रयोजनमा प्रयोग गरी आम्दानीको स्रोत बनाउन सकिने बताए ।
वीरगन्ज औद्योगिक सहर भएकोले पनि थारु छात्रावासलाई व्यावसायिक प्रयोजनका लागि भवन निर्माण गर्ने र पार्टी प्यालेस तथा सभाहलको रुपमा विकास गर्न सकिने बताए ।
थारु छात्राबासकाअध्यक्ष राधेकृष्ण चौधरीको अध्यक्षतामा भएको सधारणसभामा प्रदेश सांसद देवनारायण चौधरी, संविधानसभा सदस्य जयप्रकाश थारु, कोल्हवी नगरपालिकाका प्रमुख राप्रसाद चौधरी उपप्रमुख लक्ष्मी कुमारी चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य नन्दनकिशोर पंजियार, पर्सा अध्यक्ष भागवत प्रसाद थारु, बारा अध्यक्ष राप्रसाद चौधरी, रौतहट अध्यक्ष जगन्नाथ चौधरी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत थारु छात्रबासका सचिव सुखल प्रसाद चौधरी र सञ्चालन उपेन्द्र चौधरीले गरेका थिए ।
यसैबीच शनिबार भएको साधारणसभाको बन्दसत्रले नयाँ कार्यसमिति पनि चयन गरेको छ । साधारणसभाको बन्दसत्रले शेखर चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा रौतहटकी ललिता चौधरी सचिवमा पर्साका अमृतलाल चौधरी र कोषाध्यक्षमा बाराका हृदयनारायण चौधरीलाई चयन गरिएको छ ।
सदस्यहरुमा पर्साबाट वेदमन दास थारु, कमल महतो थारु, बाराबाट दीपेन्द्र प्रसाद चौधरी, जयनारायण प्रसाद चौधरी, मीना कुमारी चौधरी र रौतहटबाट ढोढाई चौधरी र अनुठा धामीलाई चयन गरेको छ । नेतृत्व चयनमा सहमति जुट्न नसक्दा केही ढिलो भएको थियो ।