शम्भु चौधरी : सिरहा। सरकारी ईन्जिनियर सेवाबाट अवकास प्राप्त कर्मचारी सुकदेव चौधरी ड्राईगन खेतीतर्फ आकर्षित भई वार्षिक १० लाखका आम्दानी गरी रहेका छन् ।
उनले लहान नगरपालिका १७ तरेगाना बस्ने चौधरीले जम्मा १५ कठ्ठामा ड्राईगन फ्रुटको ७ सय ५० बिरुवा लगाएका छन् । अध्ययन र अनुभवको क्षेत्र फरक भएपनि कृषि कर्म मनमा शान्ति दिने अस्त्र भएको उनले सुनाए । उमेरले छ दशक पूरा गरेका उनको लोभलाग्दो व्यावसायिक फलफूल खेती देख्दा धेरैले प्रशंसा गर्ने गरेका छन् ।
विसं २०६५ मा ऊर्जा सम्बन्धी विदेश भ्रमणमा छिमेकी मुलुक चीन गएको बेला ऊर्जा र कृषि सम्बन्धी अवलोकनबाट कृषिमा नेपालमा पनि केही गर्न सकिने सङ्कल्प लिएर अवकाश हुनुभन्दा चार वर्ष अगाडि नै कृषि फर्म दर्ता गराएर पूर्वाधार तयार गरिएको चौधरीले जानकारी दिए ।
उनले लहान बजारबाट १० किलोमिटर उत्तरतर्फ चुरेको काखमा अवस्थित करिब चार बिघा आफ्नै जमिनमा श्रीमतिको नाउँबाट कालिका कृषि फर्म’ दर्ता गरी ड्रागन फ्रुट, आँप, लिची, कागती, अम्बा, स्याउ, मेवालगायत फलफूल खेती गरिरहेका छन् । त्यसबाहेक चारवटा माछा पोखरी पनि छन् । त्यसमा सबभन्दा बढी आम्दानीको स्रोत ड्रईगन फ्रुटबाट नै भईरहेको बताए ।
चौधरीको घर वरिपरि फलफूलको आकर्षक र लोभलाग्दो खेतीले जो कसैको मन मोहित बनाउँछ । करिब रु ३० लाख लागतमा सुरु गरेको व्यावसायिक कृषि खेतीबाट चौधरीले मुनाफा प्राप्त गर्न थालिसकेका छन् ।
जागिरबाट अवकाश हुनुभन्दा केही वर्ष अघिदेखि नै ड्रागन खेती सुरु गरिसकेका थिए । त्यसपछि फलफूल खेती, माछा र माहुरी पालन पनि एकसाथ सुरु गरेका छन्, चौधरीले भने, ‘दुई वर्ष अघिदेखि १५ कठ्ठा क्षेत्रफलमा लगाइएको व्यावसायिक ड्रागन फ्रुटका खेतीले सोचेभन्दा राम्रो सफलता पाएको छु, अन्य फलफूलका बिरुवा हुर्कँदै छन् ।’
अवकाशपछि प्राप्त हुने सेवा सुविधाले जीवन धान्न मुस्किल हुने भन्दै त्यसको लागि पूर्व तयारी हुन चौधरीको सुझाव छ । उनले भने, “म यो कृषिकर्म आफ्नो आय आर्जनको लागि मात्रै होइन, अरू अवकाश प्राप्त कर्मचारी तथा देशमा केही हुँदैन र केही छैन भनी निराश हुने आम युवालाई कृषि पेसालाई सम्मान गर्दै आफ्नै गाउँ ठाउँमा आय आर्जन गर्ने यस्तो उपाय छन् भन्ने सन्देश प्रवाह गर्न चाहन्छु ।”