वीरगन्ज । पर्सामा कार्तिक ९ गते लोकनृत्य प्रतियोगिता हुने भएको छ । निजी तथा आवासयी विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्सा र वीरगन्ज महानगरपालिका समितिको संयुक्त आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने भएको हो ।
प्याब्सनले बुधबार वीरगन्जको लिटिल एञ्जल स्कुलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकार दिएको छ । प्रतियोगिताको प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्याब्सन पर्सामा आवद्ध २३ वटा विद्यालयको सहभागिता रहने पत्रकार सम्मेलनमा प्याब्सन पर्साका प्रवक्ता तथा साउथजोन माविका सहायक प्रधानाध्यापक अशोक संग्रौलाले जानकारी दिए । प्रतियोगिता आयोजनाका लागि ३ लाख १५ हजार लागत अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
प्रतियोगिताले नेपाली लोकगीत संगीत तथा नृत्यमा विद्यार्थीहरुको अभिरुची बढाउनुका साथै उनीहरुको प्रतिभा समेत प्रस्फुटित पार्ने थलो पाउने आयोजक प्याब्सनको भनाई छ ।
प्याब्सन पर्साका अध्यक्ष पूरन प्रधान र महानगर अध्यक्ष आलोक चौरसियाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, कोषाध्यक्ष रामकिशोर यादव लगायतको उपस्थिति रहेको थियो ।