वीरगन्ज । प्रहरीले पर्सा र रौतहटबाट ८ वटा चोरीको मोटरसाईकल सहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा, ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले विभिन्न मिति र समयमा पक्राउ परेका तीनजनालाई आज चोरीको मोटरसाईकल सहित सार्वजनिक गरेको हो ।
पर्सा प्रहरीले चोरीको मोटरसाईकल सहित पर्सागढी न.पा.वडा नं. ९, कोइलाभार बस्ने वर्ष २१ को सिदार्थ कुमार चौधरी, वडा नं. ८ बस्ने बर्ष २४ को विशाल दास थारु र वडा नं. २ बस्ने बर्ष ३० का पृतम कुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ परेका मध्य सिदार्थ कुमार चौधरीलाई चोरीको मोटरसाईकल चलाईरहेको अवस्थामा फेला पारी सोधपुछ गर्दा उनको बयानका आधारमा अरु दुईजनालाई पनि पक्राउ गरिएको हो ।
मोटरसाईकल चोरी भएको निवेदनहरु आएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले शुरु गरेको खोजतलासका क्रममा मोटरसाईकल सहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट अन्य ४ वटा मोटरसाईकल पनि बरामद गरेको छ ।
उनीहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिए ।
यस्तै रौतहटमा प्रहरीले चोरीको ३ थान मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाको टोलीले ३ थान चोरीको मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरको टोलीले भने लाखौँ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको छ । गत २१ गते बिहान ७ बजे गढीमाई नगरपालिका ६ बखरी टोलका उनितेश साहको घरैबाट चोरी भएको प्रदेश ०३–०१९ प २६३१ नम्बरको स्प्लेन्डर प्लस मोटरसाइकल सहित सोही ठाउँका १९ वर्षीय धीरज साह पक्राउ परेका छन् ।
त्यस्तै गत २२ गते माधोपुर बजारबाट चोरी भएको माधव नारायण नगरपालिका ६ का श्यामबाबु यादवको विआर एक्स ६५५८ नम्बरको अपाचे मोटरसाइकल सहित सर्लाही ईश्वरपुर नगरपालिका १३ का १९ वर्षको श्याम महतोलाई पक्राउ गरेको छ ।
त्यसैगरी गत २६ गते शुकादेव चौकबाट चोरी भएको यमुनामाई गाउँपालिका २ का अम्बिका यादवको विआर ३० ए एम १६४८ नम्बरको १२५ सिसिको पल्सर मोटरसाइकल सहित कटहरिया नगरपालिका ९ दुमरियाका २१ वर्षको मन्दिप भन्ने मन्दित यादव पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाको टोलीले बिभिन्न मितिमा छुट्टाछुट्टै स्थानबाट चोरीको उक्त तीनवटै मोटरसाइकल सहित तीनैजनालाई पक्राउ गरिएको डीएसपी राजन कार्कीले बताएका छन् । तीनैजना माथि चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिए ।