वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडवाडमा सुरक्षित रहनका लागि सुरक्षा सम्बन्धी १३ बुँदे अपिल जारी गरेको छ । सोमबार जारी गरिएको अपिलमा सामाजिक सदभाव भड्किने खालको गतिविधि नगर्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, महंगा गरगहना, बहुमूल्य वस्तुहरु र मोबाईल लिएर भीडभाडमा नजान अनुरोध गरेको छ ।
त्यस्तै घर, तथा पसल बाहिर जाँदा झ्यालढोका राम्रोसँग लगाएर मात्रै निस्किने, ढोका बन्द भएको छ छैन यकिन गर्ने र सकेसम्म साईरन जडित प्रविधिको प्रयोग गर्न, कतै बाहिर जानुपरेमा छिमेकी वा प्रहरीलाई जानकारी दिएर मात्रै जान पनि अनुरोध गरेको छ ।
त्यसैगरी आर्थिक कारोबार गर्दा सकेसम्म डिजिटल माध्यमको प्रयोग गर्न आफ्नो मोबाईलको ओटीपी पासवर्ड गोप्य राख्न, सामाजिक सञ्जालमा आफ्नो व्यत्तिगत यात्राको बारेमा अद्यावधिक नगर्न, जुवातास, लंगुर बुर्जा कौडा लगायतका खेलहरु नखेल्न भनेको छ ।
मोटरसाईकलमा यात्रा गर्दा अनिवार्य रुपमा हेलमेट लगाउन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियम उल्लंघन नगर्न र हर्षोल्लासका साथ दशैं मनाएर आपराधिक गतिविधि नियन्त्रणमा सहयोग गर्न पनि अनुरोध गरेको छ ।
पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले प्रहरी सधैं सुरक्षाकै लागि खटिने भएपनि चाडपर्वमा विशेष गरी चोरी, लुटपाटका घटनाहरु बढी हुने हुँदा विशेष सुरक्षा योजना बनाउने गरिएको र सोही अनुसार सर्वसाधारणले पनि अपराधिक गतिविधि नियन्त्रणका लागि सहयोग पुग्ने गरी काम गर्न अनुरोध गरेका छन् ।
अपराध विनाको समाजको परिकल्पना गर्न नसकिने भन्दै उनले त्यस्ता शंकास्पद गतिविधि देखाउने व्यक्तिहरु देखिएमा तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि अनुरोध गरेका छन् ।