वीरगन्ज । नवरात्रीको आज पाँचौदिन पनि कुष्माण्डा देवीकै पूजा गर्नुपर्ने भएको छ । आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार सोमबार बिहान ०६ः१६ बजेसम्म चौथी तिथि रहेको छ। त्यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको छ ।
आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो । आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो । घटस्थापनादेखि आज पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्ने पञ्चाङ्ग निर्यायक समितिको भनाई छ ।
नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने मङ्गलबार गर्नुपर्छ । यस वर्ष नवरात्रमा चौथी तिथि वृद्धि भएको छ भने नवमी तिथि टुटेको छ ।
असोज २५ गते महाअष्टमी तिथिको कृत्य सकेपछि त्यसै दिन केही समय विश्राम गरेर महानवमीको कृत्य गर्नुपर्ने पनि समितिले जनाएको छ ।