राजविराज । अविरल वर्षाले सप्तरीको जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको छ । पुल भाँसिएपछि तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीस्थित राजविराज भन्सार कार्यालयको राजश्व सङ्कलन प्रभावित समेत भएको छ ।
भारतसँग सप्तरी जिल्लालाई जोड्ने प्रमुख सडक वर्षाले पूर्ण रूपमा अवरुद्ध भएको हो । वर्षा हुुनासाथ जीर्ण रहेका पुलबाट आवतजावत गर्न र सडक कटानको समस्या दोहोरिने जनाइएको छ । साथै कटानसमेत हुने गरेको छ । स्थानीयवासी विन्देश्वरी यादवले जीता खोलामा आएको बाढीले पुल बगाउँदा तिलाठीस्थित राजविराज भन्सारसम्म आवतजावत गर्न समस्या भएको बताए ।
सो सडकखण्ड अवरुद्ध हुँदा मल्हनियाँ जानका लागि १० किलोमिटर घुमेर जानुपर्ने बाध्यता रहेको र कुनोली बजारमा पुग्न एक घण्टा लाग्ने गरेको छ। वर्षायाम सुरु भएसँगै यो सडकखण्डमा पैदल आवतजावत गर्न पनि अपठ्यारो हुने गरेको स्थानीयवासी बिन्दुलाल मुखियाको भनाई छ । भारतबाट कुनौली हुँदै आएका मालवाहक सवारी भन्सार कार्यालय पुग्ने मुख्य बाटो यही हो ।
सडक अवरुद्ध हुँदा सरकारले उठाउने राजस्वमा त असर पर्छ नै स्थानीयलाई समेत जोखिम थपिएको छ । दुई वर्षअघि आएको बाढीले सडक भासिदा दुई जना बेपत्ता भएका थिए । कटानका कारण गाउँका बासिन्दालाई सदरमुकाम राजविराज पुग्न पनि कठिनाइ खेप्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।