हेटौडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोमा परी मृत्यु भएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ जना विद्यार्थीमध्ये तीनजनाको शव परिवारलाई जिम्मा लगाएको छ ।
काठमाडौँस्थित शिक्षण अस्पतालमा शवपरीक्षणपश्चात् मृतकमध्ये अनुपम घलान, साइमन योञ्जन र बाराका बिकल रेग्मीको शव सोमबार बिहान हेलिकप्टरमार्फत हेटौँडा ल्याएर परिवारको जिम्मा लगाइएको हो ।
मृतक विद्यार्थीहरुको पार्थिव शरीरलाई हुप्राचौर हेडौंडामा जिल्ला खेलकुद विकास समितिले आयोजना गरिएको श्रद्धाञ्जलीसभामा राखिएको थियो । हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित मैदानमा आयोजित श्रद्धाञ्जलीसभामा मृतकका आफन्त, खेलाडी, खेलप्रेमी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।
श्रद्धाञ्जलीपछि शव अन्त्यष्टिका लागि परिवारजनलाई बुझाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए । हेटौडाका अनुपम घलान र साईमन योञ्जनको शव परिवारले बुझेर लगेका छन् । बारा निजगढका विकल रेग्मीको शव पनि परिवारले बुझेपछि शवयात्रा सहित निजगढ लगिएको नेकपा माओवादी केन्द्रका युवा नेता रविराज दंगालले जानकारी दिए ।
होस्टेलमा बसेर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ टेकरस्थित वत्सला माध्यमिक विद्यालयमा अध्ययन गर्ने र एन्फा क्याम्पमा फुटबल प्रशिक्षण लिने ४० जना विद्यार्थीमध्ये हेटौँडाका घलान, योञ्जन, बाराको निजगढका रेग्मी, सिस्नेरीका दिवस बानियाँ,
काठमाडौँका रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकीको पहिरोमा परी शनिबार मृत्यु भएको थियो । अनुपम घलान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानका एकमात्र छोरा थिए ।