वीरगन्ज । वीरगन्जको राधेमाईमा रहेको साउथजोन माध्यामिक विद्यालयले विद्यार्थीहरुलाई पुरस्कार वितरण र विद्यार्थी कल्याण परिषदमा निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण समारोह सम्पन्न गरेको छ ।
विद्यालयले आज एक कार्यक्रमको आयोजना गरेर बार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । साथै विद्यार्थी परिषदमा निर्वाचित पदाधिकारीहरुको सथप ग्रहण गराएको हो । विद्यालयको नर्सरी देखि कक्षा ९ सम्मका प्रथम, दोश्रो र तेस्रो स्थान ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
त्यस्तै विद्यालयले गर्ने विभिन्न अतिरिक्त क्रियाकलाप, अनुशासन कायम राख्ने तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि पुरस्कार सहित सम्मान गरिएको थियो । त्यस्तै पुरस्कार वितरण तथा सपथ ग्रहण समारोहमा प्रदर्शन गरिएको मार्चपासमा उत्कृष्ट हुने समूहलाई पनि शिल्ड सहित पुरस्कृत गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली सेनाको श्रीपुर स्थित श्रीजङ गणका सेनानी कुशल कार्कीले नेपालको झण्डा झण्डोक्तोलन गरेर उदघाटन गर्नुभएको थियो । उहाँले विद्यार्थी कल्याण परिषदका पदाधिकारीहरुलाई सपथ खुवाउनु भएको थियो ।
सपथ खुवाउनुभएपछि बोल्दै प्रमुख अतिथि सेनानी कार्कीले विद्यार्थीलाई अनुशासनले नै व्यक्तित्वको समेत विकास गर्ने भएकाले अनुशासित भएर आफ्ना हरेक क्रियकलाप र अध्ययनलाई जोड्नुपर्ने बताउनुभयो । पुरस्कार वितरण तथा समारोहमै साउथजोन माध्यामिक विद्यालयले मानवसेवा आश्रमको भवन निर्माणका लागि ५१ हजारको चेक हस्तान्तरण गरेको छ ।
विद्यालयको तर्फबाट प्रिन्सिपल सरोज चौधरीले मानवसेवा आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्तालाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष हिरा गिरी, वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत आनन्द लामिछाने, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, मधेस प्रदेशका बरिष्ठ उपाध्यक्ष श्याम केसी, पर्सा अध्यक्ष पुरन प्रधान,
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, उपाध्यक्ष युवराज खड्का, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य मनोज पटेल लगायत
विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरुको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य, गीत संगीतले पनि मनोरञ्जन गराएका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल अशोक संग्रौलाले गर्नुभएको थियो ।