जेठ, २० काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा लगाईएको ताला खुलेको छ । पत्रकार महासंघले जेठ २६ गते तीनवटै तहमा निर्वाचन सम्पन्न गर्ने मिति तय गरेको थियो ।
तर, सदस्यताको नामावलीमाथि असहमति जनाउदै केन्द्रीय कार्यालयमा पत्रकार संगठनहरुले तालाबन्दी गरेका थिए । पत्रकार संगठन र नेपाल पत्रकार महासंघबीच आईतबार भएको छलफल पछि तोकिएकै समयमा निर्वाचन गर्ने दुईबुँदे प्रतिबद्धता पछि तालाबन्दी खुलेको हो ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नु पर्नाको कारणबारे विभिन्न पत्रकार संगठनहरुले उठाएका विषयहरु सदस्यता नविकरण, नयाँ सदस्यता प्रदान, स्थानान्तरण र शुद्धिकरणका सवालमा प्रस्तुत गरिएका मागहरु नेपाल पत्रकार महासंघको नेतृत्वले पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै महासंघले मागहरु पूरा गर्ने प्रतिबद्धता जनाएको हुँदा संघसंगठनहरुको तर्फबाट गरिएको तालाबन्दी पनि खोल्ने प्रतिबद्धता पछि तालाबन्दी खोलिएको छ ।
प्रतिबद्धता पत्रमा नेपाल पत्रकार महासंघको तर्फबाट अध्यक्ष बिपुल पोखरेल र महासचिव रोशन पुरी, पत्रकार संगठनहरुको तर्फबाट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, प्रेस मञ्च नेपालका महासचिव अवधेश झाले हस्ताक्षर गरेका छन् ।
महासंघको तालाबन्दी खुलेपछि देशभर निर्वाचनको तयारीमा जुट्न पे्रेस सेन्टर नेपालले आफ्नो प्रदेश र शाखाहरुलाई निर्देशन दिएको छ ।