वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीको वीरगन्ज महानगरपालिकाको सभापति हुनबाट रोक्न खोजिएको हरि पन्तलाई जिल्ला संयोजको जिम्मेवारी पाएको छ । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष बुद्धि प्रसाद पन्त (हरि) लाई राष्ट्रिय स्वतन्त्र पार्टीले पर्साको संयोजकको जिम्मेवारी दिएको हो ।
यसअघि वीरगन्ज महानगरको सभापति चयनका लागि २०८० पुष २८ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वीरगञ्ज महानगर भेला आयोजना गरेको थियो । त्यसमा उनी सभापतिको आकंक्षी थिए ।
तर, उनलाई महानगरको संयोजक हुन रोक्नका लागि भेलामा केही व्यक्तिहरु लागेपछि अन्तिम समयमा आएर सूचना टाँस गरेर भेला स्थगित गरिएको थियो । होटल ब्यबसायी माहासंघ नेपालका केन्द्रिय सचिव समेत रहेका उदीयमान व्यवसायी पन्त वीरगंज उद्योग बाणिज्य संघको कार्यकारिणी समितिमा सदस्य समेत रहेका छन् ।
उनी होटल, पार्टी प्यालेस र मार्ट लगायत व्यवसाय गर्दै आएका व्यक्ति हुन् । पार्टीको विधान अनुसार सम्बन्धित जिल्लामा रहेका प्रदेश सदस्य मध्येबाट एक जना जिल्ला संयोजक र एक जना जिल्ला उपसंयोजक निर्वाचित हुने व्यवस्था बमोजिम पन्तलाई सर्वसम्मत रूपले जिल्ला संयोजकको जिम्मेवारी दिएको छ ।
जिल्ला संयोजक हुन सम्बन्धित जिल्लाको सम्पुर्ण निर्वाचित क्षेत्रीय पदाधिकारी, प्रतिनिधि र गठित पालिका पदाधिकारीहरुको मतले प्रदेश सदस्यमा निर्बाचित भएर आउनै पर्ने बाध्यकारी ब्यबस्था रहेको छ ।
त्यस अनुसार नै उनी डेढ महिना अघि दुई तिहाइ भन्दा बढी मतका साथ बिजयी भएका थिए । पार्टीका केन्द्रिय माहामन्त्री डा मुकुल ढकालको विशेष उपस्तिथिमा पन्तलाई संयोजक चयन गरिएको पत्र हस्तान्तरण गरिएको थियो ।