जनकपुरधाम । दोहोरो नागरिकताको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले जिल्ला अदालत धनुषामा पेश गरेको छ ।
दुईवटा नागरिकता लिएको जाहेरीको आधारमा मंगलबार उनलाई कान्तिपुर मिडिया कार्यालयबाटै पक्राउ गरि धनुषा ल्याइएको थियो । उनलाई बुधबार अदालतमा पेश गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिनुभयो ।
सिरोहियालाई अदालत पेश गर्न लैजादै गर्दा बुधबार जनकपुरमा प्रदर्शन समेत भएको छ । जनकपुर नागरिक समाजको ब्यानरमा भेला भएकाहरुले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश सिरोहियालाई रिहा गर’ नारा लगाएका थिए ।
प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारासहित प्रदर्शन गरेका थिए । जनकपरको सुकरबारी बजारमा सडक अवरुद्ध गर्दै जनकपुर उद्योग वाणिज्य संघ, व्यवसायी, नागरिक समाज धर्ना बसेका छन् ।
जिल्ला अदालत परिसर बाहिर पनि तरुण दल, नेपाल विद्यार्थी संघ, उद्योगी व्यवसायीलगायत उपस्थित भएर नाराबाजी जारी राखेका छन् ।