वीरगन्ज । सहकारी ठगी र सरकारी कागज किर्ते गर्नेलाई कारवाहीको माग गर्दै नेपाली कांग्रेस पर्साले विरोध प्रदर्शन गरेको छ ।
सरकारी कागज किर्ते मुद्दा तथा किर्ते नागरिकता मुद्दामा निष्पक्ष छानविन गर्ने प्रकृयामा ढिलाई गरेको र सहकारी ठगीमा संलग्नलाई कारवाही गर्नुपर्ने माग सहित वीरगन्जमा मंगलबार प्रदर्शन गरेको हो ।
रवि लामिछाने माथि संसदीय छानविन समिति गठन गर्नका लागि नेपाल विधार्थी संघ पर्साले गरेको शान्तिपूर्ण प्रदर्शनको क्रममा केही अराजक व्यक्तिहरुको समूहले कार्यक्रममा अवरोध गर्नुको साथै सांघातिक आक्रमण गरी घाईते बनाएको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै मंगलबार प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन् ।
बिरोध प्रदर्शन कार्यक्रम माइस्थान चौकबाट शुरु भएर अलखियामठ, आदर्शनगर, गीता मन्दिर हुँदै जिल्ला प्रशासन कार्यलय पर्सामा पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।
बिरोध प्रदर्शनमा नेपाली काँग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति राम नारायण कुर्मी, पूर्व प्रदेश मन्त्री ओम प्रकाश शर्मा, वीरगन्ज महानगपालिकाका उपमेयर इम्तियाज आलम लगायत जिल्ला सदस्य,
महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश कार्य समिति, क्षेत्रीय कार्य समिति, नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा कांग्रेस निकटका विभिन्न भातृ संगठनहरुको सहभागिता रहेको थियो ।