वीरगन्ज । पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर २ को जग्गा विक्री गरेका २४ जनाको जग्गामा सानोपाईला सहकारी संस्था जोडिएको छ ।
स्रोतका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर १० बस्ने ४१ बर्षीय सुमित कुमार झुनझुनवालाको सानो पाईला सहकारीमा राखिएको १७/१८ करोड रकम डुबेपछि जग्गा लिन असमर्थ भएको भन्दै पैसा फिर्ता माग गरेका थिए ।
विन्दवासिनी गाउँपालिका वडा नम्बर २ का स्थानीय २४ जनाको जग्गा ४१ बर्षीय सुमित झुनझुनवालाले उद्योग खोल्नका लागि भनेर खरिद गर्न बैना गरेपनि अहिलेसम्म जग्गा पास नगरी उल्टै मुद्दा दिएपछि बिचल्लीमा परेका छन् ।
सुमित कुमारले बैना गरेको जग्गा रजिष्ट्रेशन पास नगरिदिएको भन्दै अदालतमा सावाँब्याज सहित भराईपाउन फिरादपत्र दिएका छन् । विन्दवासिनी गाउँपालिका वडा नम्बर २ गर्दौलका स्थानीयले भने जग्गा जुनसुकै बेला पास गरिदिन आफूहरु तयार रहेको बताएका छन् ।
शुक्रबार नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गर्दै सुमित झुनझुनवालाले २०७८ सालमा जग्गा खरिद गर्न बैना दिएर पनि जग्गा रजिष्ट्रेशन पास नगरेर विचल्लीमा पारेको उनीहरुले आरोप लगाएका छन् ।
जग्गा किन्ने तय भएपछि स्थानीय जग्गावालालाई बैना बापत रकम दिएर पछि जग्गा पास गर्न पटक पटक आग्रह गर्दा समेत जग्गा पास गर्न नआएको र अहिले आएर उल्टै जग्गाधनीहरुलाई नै जग्गा रजिष्ट्रेशन गर्न नमानेको भन्दै अदालतमा मुद्दा दिएपछि आफूहरु अन्यायमा परेको स्थानीय रामेश्वर साह रौनियारले बताए ।
सुमितले विन्दवासिनी गाउँपालिका वडा नम्बर ८ मा अर्ना वियर उद्योग खोल्न भनेर पाँच विघा १० कठ्ठा जग्गा खरिद गर्न टोल टोलमा गएर बैनाको कागज गराएका थिए । तर, बैना गरिसकेपछि जग्गा रजिष्ट्रेशन गर्न नआएर एक्कासी जग्गा पास नगरिदिएको भनेर सावाँ ब्याज दिलाई पाउनलाई अदालतमा फिरादपत्र दिएपछि आफूहरु आश्चार्यमा परेको सोही वडाका भरत मुखियाले बताए ।
आफूहरुले जग्गा रजिष्ट्रेशन पास गरिदिन्छौ हाम्रो पैसा देऊ भनेर पटक पटक भन्दा पनि पैसा नदिएको पीडित स्थानीयको भनाई छ । जुनसुकै बेला जग्गा रजिष्ट्रेशन पास गरिदिन तयार भएपनि जग्गा लिने व्यक्ति सम्पर्कमा नआएको अर्का पीडित अम्बर राउत कुर्मीले बताए ।
बैना बापत लिएको रकम कोहीले छोराछोरीको विवाहमा खर्च गरिसकेको र कोहीले अन्य ठाउँमा जग्गा लिईसकेको भन्दै पैसा फिर्ता पनि दिन सक्ने अवस्था अहिले नरहेको उनीहरुको भनाई छ ।
आफूहरु जग्गा रजिष्ट्रेसन पास गरिदिन उद्योग स्थापना गर्न पर्खाल लगाएको ढोकासम्मै पुग्दापनि सुमित कुमार नआएको उनीहरुको दुखेसो छ ।
जग्गा किनबेच गराउने दलालहरुले सुमितले खरिद गरेको जग्गा बिक्री नभएपछि आफैले विक्री गरिदिने प्रलोभन दिएर स्थानीयसँग बैना गराएर सोही बराबरको पैसाको कागज गराएका थिए ।