काठमाडौं । नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेकोमा भारतको प्रतिक्रिया आएको छ ।
नेपालले एकतर्फी निर्णय गरेको भन्दै भारतीय विदेशमन्त्री एस जयशंकरले असन्तुष्टि जनाएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद बैठकले गएको बिहीबार एक सय रुपैयाँको नोटमा अहिलेको नक्साको सट्टा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो ।
त्यसबारे भारतका पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा विदेशमन्त्री जयशंकरले नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन नहुने प्रतिक्रिया दिएको हो । सीमाबारे दुई देशबीच स्थापित संयन्त्रमा छलफल भइरहेका बेला नेपालले एकतर्फी निर्णय गरेको उनको भनाई छ ।
नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेको थियो । भारतले भने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।