वीरगन्ज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले स्वधिनता र स्वतन्त्रताको कुरामा छिमेकी देशहरुसँग आँखामा आँखा जुधाएर कुरा राख्न सक्नुपर्ने बताए ।
नेकपा एमाले पर्साको नवौं जिल्ला अधिवेशन उदघाटन गर्दै सोमबार एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘छिमेकी देश भारत र चीनसँग नेपाल र नेपाली जनताको सरोकारका विषयमा आँखामा आँखा मिलाएर बोल्न सक्नुपर्छ । पडोसीके साथ आँख मे आँख मिलाके बात करना होगा ।’
वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासको छेउमै रहेको लालबंगला मैदानमा आयोजना गरिएको कार्यक्रममा बोल्दै पूर्व रक्षामन्त्री समेत रहेका बरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको स्वधिनता र स्वतन्त्रताको सवालमा देशभित्रका सबैपक्षलाई मिलाएर आन्तरिक रुपमा बलियो हुने र छिमेकीसँग डटेर कुरा राख्नका लागि केपी ओली प्रधानमन्त्री भएका बेला संसदबाट लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूभाग भएको बहुमतले अनुमोदन गराएको बताए ।
उनले अब दुवैदेशसँग राष्ट्रिय सरोकारका विषयमा खुलेर कुरा राख्न सक्नुपर्ने बताए । एमालेको अबको एजेण्डा आर्थिक विकास र समृद्धि नै रहेको बताउदै देशमा उद्योगको विकास गरेर रोजगारीको सृजना गरी विदेश पलाएन भएका युवा जनशक्तिलाई देशमै रोक्नुपर्ने भएकोले एमालेले अब प्रधानमन्त्री बन्ने र बनाउने मात्रै होईन देशलाई आर्थिक समृद्धि बनाउनका लागि एजेण्डा अगाडि बढाउने बताए । ।
नेकपा एमाले पर्साका संयोजक डा.विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा मधेस प्रदेश इञ्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्य तथा बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली, केन्द्रीय सदस्यहरु लिलानाथ श्रेष्ठ, जुली साह, राजकुमार गुप्ता, प्रभु हजरा लगायत केन्द्र, जिल्ला र स्थानीय तहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
पार्टीको नयाँ नेतृत्व चयन प्रकृया भोली हुने बन्दसत्रपछि शुरु हुने एमाले पर्साले जनाएको छ । बन्दसत्र भोली क्लासिक बंक्वेटमा हुनेछ । बन्दसत्रपछि नेतृत्व चयनका लागि निर्वाचन प्रकृया शुरु हुनेछ । नयाँ नेतृत्वको लागि पर्सामा तीनजना आकांक्षी देखिएका छन् ।
अध्यक्षका लागि अहिलेका संयोजक डाक्टर विश्वम्भर शर्मा, पूर्व अध्यक्ष जयप्रकाश थारु र शिव पटेलको नाम चर्चामा छ । पटेल र थारु केन्द्रीय सदस्य राजकुमार गुप्ता पक्षक हुन् । भने वर्तमान संयोजक डाक्टर विश्वम्भर शर्मा संस्थापन पक्षका हुन् ।
त्यस्तै सचिवमा पनि दुईजनाको नाम चर्चामा आएको छ । सचिवमा केन्द्रीय प्रचार विभाग सदस्य तथा वीरगन्ज महानगरपालिका उपाध्यक्ष महेस दास र जिल्ला सचिवालय सदस्य शिवजी गुप्ताको नाम चर्चामा छ ।