वीरगन्ज । संघीय सांसद अमरेश कुमार सिंहले विदेशी शक्तिको इशारामा हिन्दुवादीहरुले मधेसमा धार्मिक हिंसा भड्काएर संविधानमाथि प्रहार गर्न खोजेको बताएका छन् ।
सोमबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले संविधान समाप्त गरिए नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई जेल हाल्न सकिने योजना अनुसार विदेशीको इशारामा धार्मिक द्वन्द्व चर्काउन खोजिएको टिप्पणी गरे ।
द्वन्द्वकालका ३ सय भन्दा बढी मुद्दा प्रचण्डमाथि रहेको बताउँदै संविधान समाप्त पार्न सके प्रचण्डलाई जेल हाल्न सकिने आशय व्यक्त गरे । नेपालको संविधान २०७२ को मुख्य चारवटा आधारस्तम्भ धर्मनिरपेक्षा, गणतन्त्र, संघीयता र समावेशीतामाथि प्रहार भइरहेको उनको भनाई छ ।
धर्मनिरपेक्षतामाथि विदेशीहरुको इशारामा र गणतन्त्रमाथि हिन्दूवादी, पूर्वराजा र राजवादीबाट तथा संघीयता र समावेशीतामाथि राजनीतिक दल र सरकारबाट प्रहार भइरहेको उनको तर्क छ ।
वीरगन्जसहित मधेसका विभिन्न शहरमा केहि समययता धर्मका नाममा निरन्तर भईरहेका अराजक जुलुश र -यालीहरु विदेशी शक्तिहरुको इशारामा मधेसमा धर्मको नाममा द्वन्द्व सृजना गर्न खोजिरहेको सांसद सिंहको जिकिर छ ।
संविधान अहिले संकटमा परेको भन्दै उनले आँफु संविधानको पक्षधर भएकाले हिन्दू राष्ट्रको पक्षमा नरहेको पनि बताए । नेपालको राजनीतिमा अहिले परिवारवाद, व्यपारीकरण र भ्रष्टीकरण हाबी भएको भन्दै उनले राजनीति सेवा भावका रुपमा नभई व्यापारका रुपमा फस्टाएको बताए ।
देश अहिले २० जना बिचौलीयाहरुले मात्रै चलाइरहेको बताउदै सांसद सिंहले मुलुकको अर्थतन्त्र धराशायी भएको बताउनुभयो । साधरण खर्चपनि विदेशीसँग ऋण मागेर चलाईरहेकोले पनि देशको अर्थतन्त्र कत्ति जर्जर अवस्थामा छ भन्ने पुष्टि हुने सिंहको भनाई छ ।