वीरगन्ज । वीरगन्ज स्थित नेलशनल मेडिकल कलेजले जनस्वास्थ्यमा गम्भीर लापरवाही गरेको पाईएको छ । कलेजको प्रयोगशालामा म्याद गुज्रिएको केमिकल र औषधिको प्रयोग गरेको पाईएको छ । वीरगन्ज महानगरपालिकाको नेतृत्वमा गएको अनुगमन टोलीले बीरगन्जको नेशनल मेडिकल कलेजमा सोमबार छापामारीमा क्रममा म्याद गुज्रिएको केमिकल र औषधि फेला परेको हो ।
परीक्षण प्रयोगशाला (ल्याब)मा म्याद नाघेको केमिलकसहित औषधी बरामद भएपछि प्रहरीको टोलीले कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीलाई पक्राउ गरेको छ । एमडी अन्सारीसहित ल्याब प्राविधिक संजय साहलाई समेत पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी दिए ।
म्याद नाघेको केमिकल प्रयोग गरिरहेको प्राप्त सूचनाको आधारमा प्रहरी सहितको अनुगमन टोलीले छापामारी गरेको थियो । नेशनल मेडिकल कलेजको ब्लक (ए) मा रहेको प्रयोगशाला (ल्याब) मा अनुगमन टोलीले छापामारी गरेको हो ।
ल्याबमा सन २०२१ मै म्याद सकिसकेको केमिकलसहितका औषधी बरामद भएपछि कलेका एमडी अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार धेरै परिमाणमा ल्याबबाट म्याद नाघेको (डेट एक्सपायर) केमिकल तथा औषधीहरु बरामद भएको छ ।
बरामद सबै केमकिलबारे अनुसन्धानका लागि बाँकी प्रक्रिया अगाडि बढाइएको अनुगमन टोलीले जनाएको छ । महानगरपालिका, औषधी व्यवस्था विभाग र प्रहरीसहितको टोलीले संयुक्तरुपमा नेशनल मेडिकल कलेजमा छापामारी गरेको हो ।