वीरगन्ज । पाँच महिना पहिले वीरगन्जको घण्टाघर लिंकरोड स्थित नारायणी एफ.एम.अगाडिबाट चोरी भएको मोटरसाईकल फेला परेको छ । कार्तिक १८ गते पत्रकार निरज पिठाकोटे मगरको ना ५० प ९३२९ नम्बरको सुजुकी कम्पनीको जिक्सर मोटरसाईकल जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले फेला पारेको हो ।
एफ.एम. अगाडिबाटै चोरले लिएर गएको मोटरसाईकल पाँच महिनासम्म पनि फेला परेको थिएन । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले गरेको चेकजाँचको क्रममा केहीदिन अघि मात्रै पर्साको बहुअर्वाभाटा क्षेत्रबाट बरामद गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।
उनका अनुसार मोटरसाईकल चेकजाँचका क्रममा ब्लुबुक खोजी गर्दा सवारी चालक मोटरसाईकल नै लिएर भागेपछि उनलाई लखेट्दै जाँदा मोटरसाईकल छाडेर भागेपछि प्रहरीले मोटरसाईकल नियन्त्रणमा लिएको हो । मोटरसाईकल छोडेर फरार रहेका चालकलाई भने पक्राउ पर्न सकेन ।
मोटरसाईकल हराएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले निरन्तर खोजी जारी राखेको थियो । उक्त मोटरसाईकलको नम्बर प्लेट हटाएर चलाईरहेको अवस्थामा चेकजाँचका क्रममा फेला परेकोले चोरीको हो की होईन भन्ने प्रहरीलाई यकिन नभएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयमै राखिएको थियो ।
नारायणी एफ.एमका पत्रकार दिपेन्द्र कुमार साहले मोटरसाईकलको पहिचान गरेपछि ब्लुबुक ल्याएर चेसिस नम्बर र इञ्जिन नम्बर मिलाएर हेर्दा चोरी भएको मोटरसाईकल प्रमाणित भएको हो । फेला परेको मोटरसाईकल जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले सवारी धनीलाई हस्तान्तरण गरेका छन् ।
चोरी भएको मोटरसाईकल ट्राफिक प्रहरीले फेला पारेर दिएपछि पत्रकार निरज पिठाकोटेले खुशी हुदै ट्राफिक प्रहरीलाई धन्यवाद दिए । मोटरसाईकल हस्तान्तरण गर्दै ट्राफिक प्रहरी निरीक्षक खतिवडाले धेरै मोटरसाईकलहरु कार्यालय परिसरमा राखिएको हुँदा सवारी धनीहरुले आएर आफ्नो मोटरसाईकल भएको प्रमाणित गरेर लान आग्रह गरेका छन् ।
ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको मोटरसाईकलहरु चिनेर लग्न बारम्बार आग्रह गरिएको जनाउदै प्रहरी निरीक्षक खतिवडाले सार्वजनिक रुपमा पनि सूचना जारी गरेर सवारी लिन आउनका लागि सवारी धनीलाई आग्रह गरिएको बताए ।
उनले ट्राफिक प्रहरीले चेकजाँच गर्दा कतिपय नागरिकलाई दुख दिएको जस्तो लाग्ने भएपनि नागरिककै सुरक्षाका लागि ट्राफिक प्रहरीले चेकजाँच गर्ने गरिएकोले दुख नमानी सवारी चेकजाँचमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।