वीरगन्ज । वीरगन्ज कलेजले फागुन १८ र १९ गते खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्ने भएको छ । कलेजले विद्यार्थीहरुका लागि रात्री बजारको अवधारणा अनुरुप ‘सिक्दै कमाउदै कार्यक्रम’ अन्तर्गत दुईदिने ‘खाना तथा सांस्कृतिक मेला’को आयोजना गर्न लागिएको हो ।
कलेज परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गरेर फागुण १८ र १९ गते दिउँसो २ बजेदेखि राति १० बजेसम्म खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो । विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास गर्न, उद्यमशिलताको अवधारणालाई विकास गर्न र बारा पर्साको लोक सांस्कृतिक तथा परम्परागत खानाको प्रवद्र्धन गर्नका लागि मेला आयोजना गर्न लागिएको कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीले बताए ।
खाना तथा सांस्कृतिक मेलाले यस क्षेत्रका विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास भई विद्यार्थीहरुलाई प्रोत्साहन गर्नुको साथै उद्यमशिलता विकासमा पनि टेवा पुग्ने कलेजले विश्वास गरेको डा.चौधरीले बताए । मेलामा ३२ वटा विभिन्न खानाका परिकारको स्टल रहने र १५ देखि २० हजार दर्शक आउने अनुमान गरेको छ ।
गतबर्ष पनि पहिलो पटक आयोजना गरेको खाना तथा सांस्कृतिक मेलाले विद्यार्थीहरुमा हौसला प्राप्त गरेको र यसबर्ष पनि विद्यार्थीहरुले स्वस्फूर्त रुपमा मेलाको आयोजना गर्न लागेको बताए । खाना तथा सांस्कृतिक मेलामा कलेजमै अध्ययन गरेको विद्यार्थीहरुको नृत्य, गीतहरुको पनि प्रस्तुती रहने क्याम्पस प्रमुख विनोद गुप्ताले बताए ।
विद्यार्थीहरुको पाठ्यक्रमको अध्ययन मात्रै नभई उनीहरुलाई स्वरोजगार बनाई आयआर्जनका लागि प्रोत्साहन गर्नका लागि पनि मेला सहज माध्यम हुने क्याम्पस प्रमुख गुप्ताको भनाई छ । खाना तथा सांस्कृतिक मेला आयोजना गर्न लाग्ने खर्चको श्रोत कलेजको अतिरिक्त क्रियाकलाप कोष, मुख्यप्रायोजक, प्रायोजकहरु तथा सह प्रायोजकहरुबाट प्राप्त भएको आर्थिक सहयोग हुनेछ ।
आन्तरिक श्रोत, मुख्यप्रायोजक, प्रायोजक र सह प्रायोजकबाट प्राप्त कोषको रकम स्टल, स्टेज, लाईट, साउण्ड लगायतका भौतिक साधनहरुमा खर्च गरि बिद्यार्थीहरुलाई उपलब्ध गराइने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
मेलामा स्टलहरु बिद्यार्थीहरुको बिभिन्न समुहलाई दिइनेछ । उक्त स्टलहरुमा बिद्यार्थीहरुले विभिन्न परिकारका स्वादिलो खाना विक्री वितरणका लागि राख्ने छन् । स्टलबाट विक्री भएको आम्दानी बिद्यार्थीहरुको हुने र कलेजले बिद्यार्थीहरुसंग कुनै शुल्क नलिएको पनि डा.चौधरीले बताए ।